बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु पाटे बाघको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् २०१७ मा गरिएको बाघ गणनाको संख्या सार्वजनिक गर्दै ८७ पुगेको निकुञ्जले जनाएको छ।
स्वचालित क्यामरामा बाघको तस्बिर कैद गरेर गरिएको गणनामा सन २०१३ सम्म ५० रहेको बाघको संख्यामा अहिले बढेर ८७ पुगेको हो। सन २०१६ मा बर्दिया राष्ट्रिय निकुञ्जले गरेको आन्तरिक गणनामा ६२ पुगेको कर्मचारीले अनुमान गरेका थिए। बाघ संख्या बढेको पुष्टि गर्न बाघको दिशाको डिएन पनि परीक्षणको क्रममा रहेको निकुञ्जले जनाएको छ। पछिल्लो समय स्वचालित क्यामरा र बाघको दिशाबाट बाघको संख्या पुष्टि हुने गर्छ। बर्दिया राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको सन् २०१७ को बाघ गणनाको नतिजाअनुसार नेपालमा २ सय ३५ वटा वयस्क पाटेबाघ छन् । बर्दियामा ८७, चितवनमा ९३, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटा निकुञ्जमा १६ वटा पाटेबाघ छन्।
निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र, खाता जैविक मार्ग, भारत सीमा क्षेत्रका संरक्षित वनमा बाघको गणना भएको थियो। दिशाको डिएन परीक्षणबाट बाघ संख्या पत्ता लगाएर, पदमार्ग पहिचान गरेर र बाघको बासस्थान नजिक क्यामरा जडान गरी तस्बिर कैद गरेर बाघ गणना हुने गरेकोे निकुञ्ज जनाएको छ।
परम्परागत विधि र आधुनिक प्रविधिबाट बाघ गणना गर्दा निकुञ्जका बाघको एकिन तथ्याङ्क आएको निकुञ्जले दाबी गरेको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज, डब्लूडब्लु एफ र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको संयुक्त पहलमा यस वर्ष बाघ गणना भएको थियो । २ सय ५० जना कर्मचारी ५० दिनसम्म बाघ गणनाको क्रममा खटिएका थिए।
निकुन्जका अनुसार अहिले नेपाल भारतमा तराई भूपरिधि (ताल) मा सुरु भएको बाघ गणनामा एउटै प्रविधि प्रयोग भएको थियो। वरिपरि भारतका सीमा क्षेत्रसँग जोडिएका संरक्षित क्षेत्रमा यस वर्ष बाघ गणना भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए । उनका अनुसार जैविक मार्गबाट नेपाल भारतमा बाघ आवागमन भइरहने भएकाले दुवै देशमा एकै पटक बाघ गणना सुरु भएकाले एकिन तथ्याङ्क आएको छ।
‘बाघको निकुञ्ज क्षेत्रमा गणना नभई खाता जैविक मार्ग कैलालीको सामुदायिक वनमा बाघको गणना गर्न सवचालित क्यामरा राखिएको थियो,’ उनले भने, ‘जहाँ जहाँ बाघको मुभमेन्ट हुन्छ त्यहाँ सम्म प्रविधि प्रयोग गरेर बाघ गणना भएको छ।’
उनका अनुसार निकुञ्ज भित्र र सामुदायिक वनमा क्यामराको स्वचालित क्यामराको प्रयोग गरिएको थियो। निकुन्ज भित्र वा बाहिर जहाँ भए पनि बाघ ओहोरदाहोर हुने ठाउँमा क्यामरा राखिएको थियो। क्यामरा अघिबाट जुन प्रजाती हिँडे पनि क्यामराले कैद गरेको संख्या मात्र सार्वजनिक गरेको उनले बताए।
पहिले पदमार्गबाट गणना भए पनि अहिले स्वचालित क्यामराको प्रयोग गरेर र डिएनए परीक्षण गरेर बाघ संख्या पत्ता लगाएको निकुञ्जले जनाएको छ। ‘यहाँ बाघको संख्या बढेको मुभेन्टबाट हामीले बाघ बढेको अनुमान गरेका थियौं,’ अधिकृत भण्डारीले भने, ‘तथ्याङ्कमा बाघको संख्या ह्वात्तै बढेको देखियो ।’ बाघको संख्या बढेको हुनाले आहार प्रजातीको पनि संख्या कम भएको उनले जानकारी दिए । निकुञ्जको रेकर्डमा ९३ वर्गमिटरमा घनत्वमा रहेको आहारा प्रजाती ७७ वर्ग मिटर खुम्चिएको छ। प्रशस्त आहारा प्रजातीलगायत व्यवस्थित बासस्थानका कारण बाघको संख्या वृद्धि भएको उनले तर्क गरे।
बर्दिया र बाँके कम्प्लेक्समा २०७४ पुस १ गते देखि दुई महिनासम्म स्वचालित क्यामरामार्फत् बाघ अनुगमन गरिएको सहायक संरक्षण अधिकृत भण्डारीले बताए।
कम्प्लेक्सलाई तीन वटा ब्लकमा विभाजन गरी बाँके–बर्दियामा क्यामरा जडान गरिएको हो। जस अन्तर्गत करिब ७ सय २८ ग्रिड मध्ये ५ सय ७७ ग्रिडमा क्यामरा जडान थिए । निर्धारित ग्रिडमा २ सय जोडी अटोमेटिक क्यामरा जडान गरिएको हो।
स्थानीयका अनुसार निकुञ्जमा बाघको संख्या बढेपछि निकुञ्ज छेउछाउ बाघ सजिलै देख्न पाइन्छ । बाघ गणनामा वयस्क बाघको गणना हुने भएकाले निकुञ्जमा एक सयको हाराहारीमा बाघ भएको निकुञ्जका कर्मचारीको अनुमान छ। पूर्वपश्चिम राजमार्गको अम्बासा पोष्ट र खाता जैविक मार्गको गाउँगाउँमा बाघ देखिन थालेको स्थानीय बताउँछन्। भारतमा भने १ हजार ८ बाघ छन् । बाघ पाइने १३ देशमा २०२२ सम्म बाघको संख्या दोब्बर संख्या बनाउने सबै देशले प्रतिबद्धता जनाएका छन्।
प्राकृतिक बासस्थानको विनाश, बढ्दो चोरी शिकारी, सडक दुर्घटना र अंगको कारोबार जस्ता कारणले बाघ संरक्षणमा थप चुनौती बढेको निकुञ्जका कर्मचारी औल्याएका छन्।