सबैको प्यारो ” गुडडु भाईजान ” , वाइफाइवाला टी हाउस
उहाँको वास्तविक नाम नफिस अहमद जरगर तर धेरैले नेपालगन्जमा ” गुड्डु” भनेर चिन्छन् । बिपी चोकको ५० मिटर पूर्वतर्फ इदगाह रोडमा रहेको गुडडू टी हाउसकाे प्रोप्राइटर ।
यता पसल सिफ्ट गरेको १४ वर्ष जति भयो । त्यो भन्दा अगाडी करिब २१ वर्ष बिपी चोकैमा थियो पसल । उहाँ त्यति बेला आफू सानो । स्कूलबाट फर्केर आएर पसलमा बस्ने , परिवारलाई सघाउने गर्नुहुन्थ्यो । पछि १६/१७ वर्षकाे उमेर भएदेखि आफैले पसल सम्हाल्न थालेको गुड्डु बताउनुहुन्छ ।
” पहिला चिया र मलाइ वाला पाउरोटी बेचिन्थ्यो , अहिले चिया त छँदैछ , छोला भटुरा पनि नास्ताको रुपमा बेच्न सुरु गरेको छु । चियाको २ रुपैयाँ कप देखि याद छ । अहिले २० रुपैयाँ छ , कुज्जामा चिया दिन्छु ” गुड्डु भन्नुहुन्छ ।
सशस्त्र द्वन्दकालदेखि अहिलेसम्म विपीचोकमा भएका र हुने विभिन्न आन्दोलन , रयाली , जुलुस र कार्यक्रमहरुका उहाँ साक्षी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ” अरे , देशमा जे भएनी सबैजना मैनबत्ती होस् कि टायर , बाल्न यहीं आउँछन् , विभिन्न कार्यक्रम यहीं गर्छन् , म यतै हुन्छु , सब देख्छु । उहिले संकटकालमा त लाईभ बन्दुक पड्काकाे पनि देखेछु । “
गुडडू टी हाउसकाे अर्को विशेषता भनेको १४ वर्षदेखि आफ्नो ग्राहकलाई प्रदान गर्दै आएको नि:शुल्क इन्टरनेट सुविधा । त्यसैले पनि उहाँको पसलमा विशेष गरी युवाहरुको जमघट नै हुनेगर्छ । चिया पिउनुका साथै वाइफाइ भएर त्यहाँ गेम खेल्न आउनेहरुको बाक्लो उपस्थिती हुन्छ । पहिला पहिला फेसबुक र युट्युव मात्र चलाउने हुन्थे , अनि एमसी फोर र त्यसपछि क्ल्यास् अफ क्लेन खेल्नेहरु । अहिले पबजी , फ्री फायर र तीन पत्ती गोल्ड खेल्नेहरु हुन्छन् । गुड्डुले ३ पटक त आफ्नै टी हाउसमा पबजीकाे टुर्नामेन्ट समेत गराइसक्नु भएको छ । एक कप चिया पिउन आउनेहरू पनि नेटले गर्दा गेम खेल्दै बस्छन् अनि ५/६ कप चिया पिउँछन् । यसरी पनि व्यापार बढेको गुड्डुकाे अनुभव छ ।
गुड्डुले आफ्नो वाइफाइको पासवर्ड बेलाबेलामा गजब गजबको हाल्ने गर्नुहुन्छ । एउटा रमाइलो प्रसङ्ग ” एकजना ग्राहक आउनुभयो , पासवर्ड सोध्नुभयो । मैले भने चिया पिउनुस्। उहाँले चिया माग्नु भयो , मैले एक कप चिया दिए । उहाँले फेरी वाइफाइको पासवर्ड माग्नुभयो । मैले भने चिया पिउनुस् । ग्राहकले भन्नुभयो , अरे चिया मगाए त , अब कति पिउने ? मैले हास्दै भने वाइफाइको पासवर्ड हो के चिया पिउनुस् । ग्राहक हास्दा हास्दै झण्डै बेहोस भएनन् । यस्तो धेरैपटक भएको छ । “
क्रिकेटको शौकिन भएका कारण गुड्डुले विभिन्न म्याच हेर्न हेराउन टिभी पनि पसल मा राख्नुभएको छ । क्रिकेट म्याच चल्दा पनि त्यहाँ घुँईचो नै हुनेगर्छ । गुड्डु भन्नुहुन्छ ” अहिले पहिला पहिला जस्तो युवाहरुको जमघट भने छैन । सबै आ आफ्नो व्यापार व्यवसायमा लागेका छन् । तर जस्तो भएपनि केही नियमित ग्राहकहरु भने छन् , जो सधैं आउने गर्नुहुन्छ । “
गुड्डुकाे अर्को लुकेको प्रतिभा भनेको फोटोग्राफी हो । कतिलाई थाहा छ त धेरैलाई थाहा छैन पनि । यसबारेमा गुड्डु भन्नुहुन्छ ” ५ वर्ष भयो फोटोग्राफीमा लागेको । पहिलेदेखिको शौक थियो , क्यामेरा पनि थियो । अनि हरेक शनिबार समूह बनाएर विभिन्न ठाउँमा गएर फोटो खिच्ने , सिक्ने सिकाउने ग्रुप नेपालगन्ज फोटोवाकर्सका दाई र साथीहरुबाट धेरै सिक्ने मौका मिल्यो । अहिले त विभिन्न इभेन्टहरुमा व्यवसायिक रुपमा नै फोटो खिच्ने गर्छु । राम्रै आम्दानी छ , शौक पनि पुरा भैराको छ । यसमा मलाई आमाले धेरै साथ दिनुभयो । आमाको साथ हुँदैनथ्यो भने फोटोग्राफीलाई तिलाञ्जली दिनुपर्थ्यो । “
जे होस् , सानो पसल भएपनि उदार हृदयका कारण गुड्डु नेपालगन्जका युवावर्ग माझ लोकप्रिय छन् । उहाँ प्राय: पसल मै आफ्ना ग्राहकहरुसङ्ग कहिले लुडो कहिले चेस त कहिले फ्री फायर र पबजी खेलिरहेको भेटिने गर्नुहुन्छ । निकै सरल स्वभावका गुड्डु भन्नुहुन्छ ” हाइफाइवाला क्याफे हैन , वाइफाइवाला टी हाउस हो , मेहनत गरिन्छ , त्यसकै फल हो सबैले साथ , सहयोग र माया गर्नुहुन्छ । “
के तपाईं कहिले गुड्डुकाे गफ सुन्न अनि उहाँले बनाउने चिया पिउन जानु भएको छ ?
ke ko pyaro ptthar baaji waha ko ghar bata suru bhako