सुशील काेईरालाको सातौं स्मृति दिवस
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका संविधान पिता , पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व पार्टी सभापति आदरणिय सुशील काेईरालाको सातौं स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धा सुमन 🙏
विसं १९९६ श्रावण २८ गते जन्मनुभएको कोइराला विसं २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित हुनुभएको थियो । विसं २०५६ को संसदीय निर्वाचनमा उहाँ पुनः बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित हुनुभयो । विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा उहाँ बाँकेबाट पराजित हुनुभयो । त्यसपछि विसं २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उहाँ बाँके र चितवनबाट सभासद्मा विजयी हुनुभयो ।
दोस्रो संविधानसभामा ठूलो कांग्रेस पार्टी भएपछि कोइराला २०७० माघ २७ गते देशका ३७ औं प्रधानमन्त्री र गणतन्त्र नेपालको छैटौं प्रधानमन्त्री निर्वाचित हुनुभयो थियो । संविधान जारी भएपछि प्रमुख तीन राजनीतिक दलको सहमतिअनुसार २०७२ असोज २३ गते उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो । कोइराला करिब २० महिना मुलुकको कार्यकारी प्रमुख हुनुभएको थियो ।
२०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो । कोइराला २०६७ भदौ २५ मा नेपाली कांग्रेसको सभापति बन्नुभएको थियो । पार्टी सभापति रहेकै बेला उहाँको निधन भएको हो । उहाँको कार्यकालमा देशले नयाँ संविधान पाएको थियो ।
सम्भवत: नेपाली राजनीतिमा कृष्णप्रसाद भट्टराईपछि त्यागी नेता सुशील कोइराला नै होलान् । जसको निजी सम्पत्तिको नाउँमा केही पनि रहेन । जसले आफु हारेर पनि देशलाई जिताए । तिनै प्रजातन्त्रका सिपाहीप्रति हार्दिक श्रद्धा सुमन 💐🙏🏻