नेपालगंजमा पनि जम्यो नेपथ्यको लोकरक साँझ
बत्तीका चकमन्न रंगीबिरंगी धर्काहरूले आकाश र भुइँ सबैतिर तिरिमिरि उज्यालो देखाइरहेकै बेला मञ्चमा चढेका गायक अमृत गुरुङले साँझ ठिक ६ बजे गाउन सुरू गरेपछि नेपालगंज रंगशालामा उपस्थित दर्शकहरु एकैसाथ् झुम्न , नाच्न र गाउन सुरु गरे। झण्डै ५ हजार बढी दर्शकको आवाजले मञ्चको ध्वनीलाई समेत चुनौती दिइरहेको थियो।
शान्ति को लागि शिक्षा अभियान अन्तर्गत बिस २०६८ सालमा बागेश्वरी चलचित्र मन्दिरमा आफ्नो प्रस्तुती दिएको नेपथ्यले ११ वर्षपछि नेपालगंजमा आफ्नो कार्यक्रम गर्दै थियो। दर्शकहरूले साथ् नदिने त कुरै भएन। रंगशालाको मैदानभरि अटाएका दर्शकहरूको भव्य र सभ्य उपस्थितिले यसरी मुलुकभरको यात्रामा निस्केको नेपथ्यको यो पाँचौ प्रस्तुति पनि व्यापक रुपमा सफल भएको छ। महिना दिन लामो यात्रा अन्तर्गत यसअघि विराटनगर, वीरगन्ज , हेटौंडा र नारायणघाटमा यस्तै भव्य कन्सर्ट सम्पन्न भइसकेका छन्।
पालै पालो ब्याण्डले आफ्नो चर्चित गीतहरु सुनाउदा मङ्सिर अन्त्यको चिसोकै बीच पनि नेपालगंजका दर्शकहरूमाझ व्यापक तापक्रम फैलिएको थियो।
कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । साथै देशको परिस्थिती र आफ्नो देशलाई राम्ररी बुझ्न अनि नेपाली गीतसंगीतलाई सधै माया गरिराख्न सम्पूर्ण दर्शकलाई उनले बारम्बार आग्रह पनि गरिरहे। ‘जीवन भनेको आज छ भोलि के हुन्छ थाहा छैन,’ उनले भनेका थिए, ‘आफू बाँचे पनि समाजका अरू मानिसहरू बाँच्न पाएका छन् कि छैनन् भन्ने चिन्ता लिँदै गच्छे अनुसारको दान सबैले गरौं है।’
घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको मानवसेवा आश्रमसँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो। यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरूको मनछुने तस्बिरहरू देखाइएको थियो। मुलुकभर सडकमा आश्रितहरूलाई उद्धार गर्दै खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ ब्याण्ड संगीतका माध्यमबाट आश्रमसँगै मिलेर मानवताको सेवातर्फ मोडिन चाहेको अमृतले प्रष्ट पारेका थिए।
कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको हिट गीतहरू ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’बाट बिट मारिएको थियो। मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
नेपालगंजको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बसमार्फत् शुक्रबार धनगढ़ीतर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘धनगढ़ी रंगशाला’मा नेपथ्य पौष ३ गते बिहीबार प्रस्तुत हुँदैछ।