पर्यटनफाेटाे

लुम्बिनी प्रदेशकाे प्रख्यात श्री बागेश्वरी मन्दिर ( फोटो फिचर )

नेपालगञ्जस्थित बागेश्वरीदेवी मन्दिरको सतीदेवीको जिब्रो पतन भई पीठ उत्पन्न भएको विश्वास छ। सतीदेवीको शक्तिले बागेश्वरीदेवी मन्दिर परिसरको पृथ्वी खाडल परेको धार्मिक किम्वदन्ति रहेको भए पनि उक्त खाडल कति गहिरो छ भन्ने यकिन हुन नसकेको बताइन्छ। साथै धार्मिक महत्वले प्रख्यात मानिने डोल्पास्थित त्रिपुरासुन्दरीसँग बागेश्वरीदेवी मन्दिरको नाम जोडिएको छ। जिब्रो पतन भएकोले सुरुमा वाकेश्वरी हुँदै पछि बागेश्वरी नाम रहन गएको पनि जनबिश्वास रहिआएको छ ।

बागेश्वरी मन्दिर : तस्बिर : विशाल रानामगर

वि. सं. १२६७ भन्दाअघि सिद्धनाथ बाबा आफूले जिउँदै समाधि लिएर स्थापना गरेको बागेश्वरीदेवी मन्दिरको मुख्य पूजारीकारूपमा नाथ सम्प्रदाय (कान चिरूवा) रहने गरी तत्कालीन श्री ३ चन्द्र शमशेरबाट सनद-पत्र जारी भएबमोजिम २४ पुस्ताका रूपमा नाथ सम्प्रदायका महन्त पूजारी चन्द्रनाथ योगी रहनुभएको छ।

बागेश्वरी मन्दिरमा अवस्थित बागेश्वरी माता

भारत बलरामपुरका तत्कालीन महाराजा दीर्घविजय सिंहले वि. सं. १२६७ मा बागेश्वरी शक्तिपीठको दर्शन गरी खरको छानो राखेर जिर्णोद्वार गरेको दस्तावेज पाइन्छ। सिद्धनाथ बाबा आफ्ना शिष्यकासाथ धार्मिक भ्रमणमा आउँदा देवीले ‘आफ्नो बासस्थान यहाँ रहेकाले यसको उत्थान गरी सेवा गर्नु’ भन्ने सपना पाएपछि भोलिपल्ट खन्दा सतीदेवीको जिब्रो पतन भएको स्थान फेला पारेको धार्मिक विश्वास छ।

बागेश्वरी मन्दिर प्रागंणमा रहेकाे गणेश जी काे मूर्ति

सिद्धबाबाले मन्दिर बनाउँदा सुरूमा भत्किएकोले सातौं दिनमा पुनः देवीले सपनामा ‘मन्दिर बनाइसकेपछि बली दिनु’ भनेपछि प्राणीपि्रय बाबा आफैँ समाधि लिने निर्णय गरी आफ्ना शिष्यलाई बागेश्वरीदेवी मन्दिरको पूजारी भई बस्ने आज्ञाबमोजिम सोही शिष्यको २४ पुस्ता अहिलेको पूजारी रहेको बताइन्छ।

बागेश्वरी मन्दिर प्रागंणमा रहेकाे शनिदेवकाे मूर्ति

बागेश्वरीदेवी मन्दिरको पूर्वढोकामा द्रोणाचल पर्वत उठाएका हनुमान, कमलको फूलमा आसन गरेका गणेश, शीरमा मुकुट, कानमा कुण्डल, दाह्री पाली मुण्डमालामा सजिएका भैरबले रक्षा गरेका छन्। उत्तरतर्फको ढोकामा शीरमा मुकुटका साथ २२ नरमुण्डको माला पहिरिएकी र रीसले चूर भई शिवजीमाथि उभिएकी काली र राक्षसको जिब्रो समातेर निकाल्न खोजेकी बगलामुखी भगवतीले रक्षा गरेकी छिन्।

विश्वकाे एक मात्र जुंगा भएकाे खडेश्वर महादेव

यसैगरी दक्षिणढोकामा गणेश र पिताम्बर, विश्वकर्मा पुराण र कमण्डलु बोकेका विश्वकर्मा बाबाको प्रतिमा बनाइएको छ भने मन्दिरको भित्रतिर सरस्वती, गणेश, अखण्डदीप, दुर्गादेवी, बागेश्वरी, हनुमानका मूर्ति छन्।

बागेश्वरीदेवी मन्दिरभित्र सिंहमरमरको भित्तामा देव्याबवच, देवीको आरती, अथागलस्त्रोत्रमम्का श्लोक, अर्थकिलकम्का श्लोक, दुर्गा सप्तसतीको पहिलो र दोस्रो अध्याय छन्।

बागेश्वरी मन्दिरको पूर्वमा अवस्थित सिद्धपोखरी र पोखरीको बीचमा महादेवको मन्दिर छ। वि. सं. २००५ मा उक्त पोखरीलाई तत्कालीन बडाहाकिम प्रकाश शमशेरले जिर्णोद्वार गरी २००६ सालमा खडेश्वर जुङ्गे महादेवको प्रतिमा स्थापना गरेको बताइन्छ।

बागेश्वरी मन्दिरको बीचमा सिंहमरमरबाट बनेको अष्टकोणमाथि नाग र छाताले ढाकिएकी दुर्गादेवी छिन् भने ठिक मुनी सतीदेवीको जिब्रो पतन भएको गहिरो खाडल छ। मन्दिरको पूर्वतिर सिद्धनाथ बाबाले समाधि लिएको स्थलमा आजपर्यन्त जीवितै रहेको अनुमान गर्दै समाधिस्थलमा अहिले पनि भक्तालुहरूले श्रद्धापूर्वक पूजाआजा गर्दै आइरहेका छन्।

मन्दिरको दक्षिणमा रहेको खोपामा रहेको अखण्डदीप प्रज्ज्वलन भइरहेको छ भने दीप कहिलेदेखि बल्न सुरू गरेको हो भन्ने यकिन नभएपनि बीज मन्त्रबाट सिद्धनाथ बाबाले प्रज्ज्वलन गरेको अनुमान छ।

बागेश्वरीदेवी मन्दिरभित्रका यज्ञशाला, पीपल वृक्ष र सिद्धनाथ बाबाको समाधिस्थल पनि पूजाआजाका लागि उल्लेखनीयस्थल मानिन्छन्। उक्त दीप निभेको खण्डमा भारतको तुलसीपुरस्थित पाट्यश्वरी देवीको मन्दिरबाट ल्याउनुपर्ने र सो पनि निभेमा दैलेखको ज्वालाजी मन्दिरबाट बत्ती बालेर ल्याउनुपर्ने धार्मिक मान्यता रहेको छ।

तस्बिर : सत्यम जोशी

Related Articles

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button