बाँके राष्ट्रिय निकुञ्ज
बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले २०६७ सालमा स्थापना भएको यस निकुञ्ज जैविक विविधता, दुर्लभ वन्यजन्तुको वासस्थान र बर्दिया राष्ट्रिय निकुञ्ज तथा नेपालगञ्जसँग जोडिएको छ ।
नेपालको यो कान्छो राष्ट्रिय निकुञ्ज आवश्यक प्रचारको अभावमा ओझेलमा परेकोजस्तो देखिन्छ । यद्यपि यस निकुञ्जलाई सरकारले १०० वटा पर्यटकीय गन्तव्यको सूचीमा ५७ औँ स्थानमा राखेको छ ।
सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरुप बाघको सङ्ख्या बढाउन यसको वासस्थानको उचित व्यवस्थापन गर्ने उद्देश्यले बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमी क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रुपमा यो निकुञ्ज घोषणा गरेको थियो ।
विसं २०५७ मा पृथ्वीलाई उपहार भनी यस क्षेत्रलाई सरकारले बर्दिया राष्ट्रिय निकुञ्जको पूर्व विस्तारित क्षेत्रको रुपमा घोषणा गरेको थियो । त्यसको १० वर्षपछि २०६७ वैशाख ३० मा सगरमाथा राष्ट्रिय निकुञ्जको कालापत्थरमा बसेको मन्त्रिपरिषद्को बैठकले यस निकुञ्ज स्थापनाको निर्णय गरेको र २०६७ असार २८ गते राजपत्रमा सूचना प्रकाशित गरी यसको औपचारिक स्थापना गरिएको थियो ।
निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग तथा राष्ट्रिय र सामुदायिक वन हुँदै भारतको कतर्नियाघाट वाइल्ड लाइफ सेन्चरीसँग जोडिएको छ । उत्तरतर्फ चुरे पर्वत र दक्षिणमा पूर्व–पश्चिम राजमार्ग रहेको छ भने दक्षिणमा कम्दी जैविक मार्ग हुँदै भारतको सलेहवा वाइल्डलाइफ सेन्चरी क्षेत्रसँग समेत जोडिएको छ । निकुञ्जमा आवतजावतमा अप्ठेरो पर्ने महोदेवपुरी बोटल नेट क्षेत्र पनि पर्दछ ।
निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि आवशयक पूर्वाधारसहित वन्यजन्तु विचरण भइरहेको दृश्यावलोकनका लागि विभिन्न स्थानमा टावर निर्माण, जस्प सफारी, पैदलयात्रा, हात्ती सफारी आदि सेवा उपलब्ध छन् ।
बाँके राष्ट्रिय निकुञ्जमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले गत पुसको दोस्रो सातादेखि हात्ती सफारी शुरु गरिएको छ । नेपाल भ्रमण वर्ष शुभारम्भको अवसरमा प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आन्तरिक पर्यटक बढाउन र विदेशी पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीले सहयोग पुग्ने बताएका थिए ।
मध्यवर्ती क्षेत्रको विभिन्न क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी बालापुर, खड्गबार र गाभरमा होमस्टे (घरवास पर्यटन) सञ्चालनमा ल्याइएको छ । निकुञ्जको ओभरी, खड्गबार, बुच्चापुर, गाभर र अगैयाबाट पर्यटकलाई निकुञ्जभित्र प्रवेश गर्ने सुविधा उपलब्ध छ ।
निकुञ्जमा बाघ र हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावर छन् । यहाँ जैविक विविधताको दृष्टिले आठवटा पारिस्थितिकीय प्रणाली, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रजातिका पन्छी, ५८ प्रजातिका माछा, ३२ प्रजातिका स्तनधारी, २२ प्रजातिका सरीसृप तथा छ प्रजातिका उपयचरहरु पाइन्छन् ।
सालक, हुँडार, चौका, जङ्गली हात्ती र पाटेबाघजस्ता संरक्षित स्तनधारी वन्यजन्तु, कालो गरुड र राजधनेशजस्ता पन्छी र अजिङ्गर, सुनगोहोरोजस्ता संरक्षित घस्रने वन्यजन्तु रहेका छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ मानिएका पन्छी अभिलेख गरिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको हुँदा ठूला वन्यजन्तुका लागि यो महत्वपूर्ण वासस्थान पनि हो ।
बाँके राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त थलो बन्दै गएको छ । निकुञ्जमा खानेपानी, उचित व्यवस्थापन भएपछि बाघको सङ्ख्या बढेको निकुञ्जले जनाएको छ ।
निकुञ्ज कार्यालयका अनुसार सन् २०१३ मा चारवटा बाघ रहेकामा सन् २०१८ मा २१ वटा वयस्क बाघ पुगेको छ । “बाघका लागि आहारविहार, बस्ने ठाउँ आदिको व्यवस्था गरेपछि बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भने ।
नेपालले व्यक्त गरेको प्रतिबद्धता अनुसार बाघको सङ्ख्या सन् २०२२ सम्ममा २५० पु¥याउन सकिने उनी बताउछन् । पछिल्लो आँकडाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ छ ।
यस निकुञ्जभित्र पूर्व–पश्चिम क्षेत्रमा ७२ किलोमिटर र कोहलपुर–बबई रत्न राजमार्गमा ३० किलोमिटर पर्ने हुँदा वन्यजन्तु सडक वारपार गर्ने क्रममा दुर्घटनामा पर्ने समस्या रहेको छ । सुक्खा क्षेत्र भएका कारण निकुञ्जका जनावर पानी पिउन राप्ती नदी किनारामा पुग्ने गर्दछन् । रातको समयमा राजमार्ग पार गर्ने क्रममा उनीहरु सडक दुर्घटनामा पर्ने गरेका छन् ।
“सडकमा जथाभावी फ्याँकिएका खानेकुरा खान जाँदा पनि केही जनावर गाडीको ठक्करले मारिएका छन्”, संरक्षण अधिकृत भट्टराईले भने । निकुञ्जमा विगत पाँच वर्षको अवधिमा २६४ जनावर सडक दुर्घटनामा परेर मरेका छन् ।
निकुञ्जको तथ्याङ्क अनुसार आव २०७५/७६ मा ४५ वटा, आव २०७४/७५ मा ७२ वटा, आव २०७३/७४ मा ८३, आव २०७२/७३ मा ५०, आव २०७१/७२ मा २४ वटा वन्यजन्तुको मृत्यु दुर्घटनाबाट भएको छ । मृत्यु हुनेमा बँदेल, मृग, खरायो आदि छन् । दुर्घटना मुख्य गरेर सुक्खायाममा बढी हुने गरेको पाइएको छ । गत वर्ष दुर्घटनाको जोखिममा परेका ४३१ वन्यजन्तुको उद्धार गरिएको थियो ।
राष्ट्रिय निकुञ्जको सुरक्षा व्यवस्थाको लागि २०६७ सालदेखि सेनाको गोरखदल गणको एक टोलीले सुरक्षा प्रदान गरेको थियो । सोही साल उक्त गण नै यस निकुञ्जमा स्थानान्तरण भई सुरक्षा प्रदान गरेको थियो ।
२०७४ साउन ७ गतेदेखि श्रीमेहर गण यसको सुरक्षार्थ तैनाथ रहेको छ । हाल करिब ६०० सैनिकले निकुञ्जको सुरक्षा गरिरहेको छ । गणका प्रमुख सेनानी जीवन शर्मा कान्छो निकुञ्ज भएकाले भौतिक पूर्वाधार निर्माण गर्नेदेखि सेनाले चौबिसै घण्टा सेनाको साइकल गस्ती, गाडीबाट पेट्रोलिङ गरिरहेको बताउछन् ।
नेपाली सेना, निकुञ्ज र स्थानीयवासीको सहकार्य र समन्वयमा निकुञ्जको सुरक्षा, चोरी शिकारी नियन्त्रणका कार्य सफल भएको उहाँको भनाइ छ । हाल २० वटा पोष्टबाट संरक्षण तथा व्यवस्थापनको काम भएको छ ।
पर्या–पर्यटन प्रवद्र्धनका लागि एउटा पक्की मचान, वन्यजन्तुका लागि ६७ वटा पानीपोखरी निर्माण, आगोलागी नियन्त्रणका लागि पाँचवटा पोखरी निर्माण र हात्तीको सेडघर दुईवटा निर्माण गरिएको छ ।
चोरी शिकारी हुन नदिन र जनावरको गतिविधि बुझ्न जङ्गलभित्र ठाउँठाउँमा आधुनिक ‘क्यामरा ट्यापिङ’ प्रविधि जडान गरी मोबाइल एप्सको माध्यमबाट तुरुन्तै जानकारी लिन सकिने उनी बताउछन् ।
केही वर्षअघिसम्म मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने समुदायमा निकुञ्जप्रति सकारात्मक दृष्टिकोण नभए पनि अहिले यसको संरक्षणप्रति निकै चनाखो र सहयोगी रहेको पाइन्छ ।
साभार ः kharibot.com