सिद्धार्थ कटेजमा म:म: फेस्टिवल हुँदै । ४१ प्रकारका म:म: सँगै साङ्गेतिक मनोरञ्जन
यही पौष २५ , २६ र २७ गते तीन दिन हुने फेस्टिभलमा ४० भन्दा बढी प्रकारका म:म: को भेराइटीज राखिनुका साथै मनोरञ्जनका लागि फरक फरक कलाकारहरुको प्रस्तुति पनि रहने भएको छ ।
फेस्टिवलको पहिलो दिन स्थानीय कलाकारलाई प्राथमिकता दिँदै मोहिनी दिलिप पौडेल सहित टिमको नृत्य प्रस्तुती रहने र दोस्रो दिन द समय ब्यान्डसँगै म:म: मेकिङ एण्ड कुकिङ कम्पिटिसन पनि हुनेछ । त्यस्तै म:म: फेस्टिभलको अन्तिम दिन राष्ट्रिय कलाकार पशुपति शर्माको प्रस्तुती तथा अन्य कलाकारहरूको लाइभ दोहोरी र नृत्य सँगै कम्युनिटी कुकिङ कम्पिटिसन पनि राखिएको होटल सिद्धार्थका जनरल म्यानेजर वद्री कोइरालाले बताएका छन् । कार्यक्रम सञ्चालकको भूमिका समिर मान श्रेष्ठले निर्वाह गर्नेछन् ।
गत वर्ष गरिएको फेस्टिभलमा कम्युनिटी कुकिङ कम्पिटिसन निकै सफल भएको हुँदा यो वर्ष पनि व्यापक सहभागिता सहित कम्पिटिसनको लागि निःशुल्क नाम दर्ता गराउन इच्छुक सबैले सिद्धार्थ कटेज नेपालगन्जको रिसेप्सनमा सम्पर्क राख्न सकिने सिद्धार्थ कटेजका अपरेशन मेनेजर पदम न्यौपानेले जानकारी दिएका छन् ।
यो वर्ष फेस्टिभलमा राखिने म:म: मा नयाँ र रैथाने मिश्रणको स्वादसँगै भेगनको लागि विशेष परिकार पस्कने सिद्धार्थ ग्रुपका कर्पोरेट सेफ पाक महर्षि सन्दिप खत्रीले खुलासा गरेका छन् ।
फेस्टिभल दिउँसो २ बजेदेखि राती ८ बजेसम्म सिद्धार्थ कटेज सुर्खेत रोडको परिसरमा नै सञ्चालन हुने र सबैलाई निःशुल्क प्रवेश रहने हुँदा आफूलाई पायक पर्ने दिन र समयमा आएर सिद्धार्थले गर्न लागेको फेस्टिभलमा सहभागी भई फुड कल्चरलाई बढावा दिन सबैलाई होटल सिद्धार्थका सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टले आग्रह गरेका छन् ।
सिद्धार्थ कटेज नेपालगञ्जकै मुटुमै रहेको पारिवारिक वातावरण भएको रेस्टुरेन्ट हो । नेपालगंजमै होटल सिद्धार्थ ४ तारे लक्जरी होटल सँगै सिद्धार्थ ग्रुप अन्तर्गत देशभरका बिभिन्न स्थानमा होटेल , रिसोर्ट , रेष्टुरेन्ट , क्याफे सहित ३० वटा आउटलेटहरु संचालन गर्दै आएको छ । आगामी दुई महिना भित्रमा सिद्धार्थ कटेज धनगढी र सिद्धार्थ कटेज योगीकुटी बुटवलमा होटल सिद्धार्थले सेवा प्रदान गर्ने भएको छ ।